मेयर-उपमेयरको लफडा मिलाउन सीडीओको हस्तक्षेप !

विवाद मिलाउन बनाइयो सात सदस्यीय समिति

कावासोती : पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र उपमेयर विष्णुकुमारी कँडेलबीचको विवादले उग्ररुप लिएको छ । उपमेयर कँडेलले नगरपालिका कार्यालयमा ताला लगाएपछि मेयर पौडेल चौतारोमा पुगेका छन् ।

आर्थिक पारदर्शीताको विषयमा उपमेयरले ताला लगाएपछि चर्किएको विवादले उग्ररुप लिँदा यसलाई मिलाउन मेयर जिल्ला अधिकारीको सहारा लिइएको छ । मेयर र उपमेयरको विवाद मिलाउनकै लागि सात सदस्यीय समिति गठन गरिएको छ । मेयर पौडेल र उपमेयर कँडेलबीच नगरपालिकाका योजना र खर्चबारे विवाद हुँदै आएको छ ।

त्यही विषयलाई लिएर उपमेयर कँडेलले मंगलबार मेयर र प्रशासकीय अधिकृतको कार्यालयमा तालाबन्दी गरेकी थिइन् । तालाबन्दी गरेपछि उत्सर्गमा पुगेको विवाद मिलाउन प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको संयोजकत्वमा बैठक बसेर समिति नै गठन गरिएको हो ।

नगरपालिकामा १८ वडा छन् । २०७५ जेठसम्म हुने कार्यक्रम नगरसभाले पास गरेअनुरुप सम्पन्न भएका थिए । तर असार १ देखि हुने कार्यक्रमलाई कार्यपालिकाले संशोधन गरी बाँडफाँड गर्ने निर्णय गरेको थियो ।

कार्यपालिकाले ‘१–१८ कार्यक्रम’ शीर्षक राखेर कार्यक्रममा बजेट छुट्टाउने निर्णय भएको थियो । तर कार्यपालिकाको बैठकबाट अनुमोदन नगराई त्यही शीर्षकको रकमबाट मेयर पौडेलले रकम बाँडेको उपमेयर कँडेलको आरोप छ ।

उक्त शीर्षकबाट तारजाली, डस्टबिनन वितरणलगायत जनचेतनामुलक कार्यक्रममा रकम खर्च भएको लेखाअधिकृत दुर्गादत्त शर्माले बताए ।

असार १ देखि २५ गतेसम्म सम्पन्न भएका कार्यक्रम र खर्चको विवरण सार्वजनिक हुनुपर्ने कँडेलको माग छ । त्यही माग अनुसार गठन भएको समितिमा कोष तथा लेखा नियन्त्रक महेशशरण भण्डारीलाई संयोजक तोकिएको छ ।

सदस्यहरुमा उपमेयर कँडेल, वडाअध्यक्ष धु्रव पौडेल, नगरकार्यपालिका सदस्य कुमारी रेखा पौडेल, नगरसभा सदस्य कृष्ण सापकोटा, जिल्ला प्रशासन कार्यालयका अधिकृत आनन्द भुषाल र गैंडाकोट नगरपालिकाका लेखाअधिकृत दुर्गादत्त शर्मा छन् ।

समितिले केही दिनमा कार्यक्रम र खर्चबारे प्रतिवेदन पेश गर्ने छ । समिति गठनपछि बिहीबारबाट नगरपालिकामा लगाइएको ताला खुलेको छ । कार्यपालिका र नगरसभाले अनुमोदन गरेको कार्यक्रममा रकम खर्च गरेको मेयर पौडेलले बताए । उनले व्यक्तिपिच्छे कार्यक्रमका बिल देखाउन जरुरी नभएको बताए ।

नगरपालिकाबाट भएका सम्पूर्ण खर्चबारे कोलेनिकाले समेत रुजु गरिसकेको अवस्थामा उपमेयर कँडेलले बखेडा निकाल्नु उचित नभएको मेयर पौडेलले बताए ।

नगरपालिकामा मेयरसहित १० जना नेकपाका छन् भने उपमेयरसहित १८ जना नेपाली कांग्रेसका जनप्रतिनिधि छन् । बहुमत र अल्पमतका कारण विभिन्न समयमा योजना र खर्चबारे नगरपालिकामा विवादहुँदै आएको छ ।

Source: Annapurna Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *