विषाक्त मदिराले चार नेपालीसहित १५ को ज्यान लियो

मलेसिया : मेलेसियामा ‘विषाक्त’ मदिरा सेवन गर्दा चार नेपाली कामदारसहित १५ विदेशी कामदारको मृत्यु भएको छ । प्रहरीका अनुसार मदिरा सेवन गरेका ३३ जना बिरामी परेका छन् । मृतक तथा बिरामी परेका प्रायः सबै विदेशी कामदार रहेको सेलाङ्गार राज्यका प्रहरी प्रमुख मजलान मानसोरले जानकारी दिए ।

सेलाङ्गर मलेसियाको राजधानी क्वालालम्पुरसँग जोडिएको राज्य हो । प्रहरीका अनुसार मृतक तथा बिरामी सबैले सोमबार दुई थरीका ह्वीस्की र एक थरी वियरको सेवन गरेका थिए । मदिरा सेवन गरी मृत्यु भएका पहिलो व्यक्ति एउटा फ्याक्ट्रिमा काम गर्ने श्रमिक थिए भने मंगलबार पनि एक जनाको मृत्यु भएको मलेसियाको बेर्नामा न्यूज एजेन्सीले जनाएको छ ।

सोमबार मृत्यु हुने सात जनामध्ये एक मलेशियाली, चार नेपाली, एक भारतीय र एक जना बङ्गलादेशी रहेका मजलानले बताए । प्रहरी प्रमुखद्वारा हस्ताक्षर गरिएको एक वक्तव्यमा भनिएको छ, ‘मृत्युको कारण अझै आधिकारिक रूपमा पुष्टि भइसकेको छैन । तर प्रहरीको प्रारम्भिक अनुसन्धानमा सबैजनाले मदिरा सेवन गरेपछि अस्पताल भर्ना गरेको पाइएको छ ।’

स्थानीय सञ्चारमाध्यमले प्रहरीले घटनास्थलबाट विभिन्न ब्रान्डका मदिराका खोलहरू लगेको छ । उनीहरूले किनेको भनिएको मदिरा पसलबाट पनि प्रहरीले केही नमूना लगेको छ ।

Source: Annapurna Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *