मधेसबाट पहाड सर्दै कालाजार

काठमाडौँ — पहिले तराई मधेसको रोग भनेर चिनिन्थ्यो कालाजार । तराईवासीले निकै कष्ट ब्यहोरेपछि सरकारले कालाजार रोकथाम नीति र कार्यक्रम बनायो । ती प्रभावकारी पनि भए । आजकाल कालाजार पहाडी जिल्लातिर सर्दै गएको छ । पछिल्ला ९ महिनाको अवधिमा पहाडी जिल्लामा कालाजारबाट ४ जनाको मृत्यु भएको छ । सन् २०१८ को ९ महिनाको अवधिमा कालाजारले जुम्ला, बाजुरा, काठमाडौं र पाल्पामा एक/एक जनाको मृत्यु भएको छ। तीन वर्षयता कालाजारको परम्परागत थलो ठानिएको तराई र भित्री मधेसका २२ जिल्लामा यो रोगबाट कसैको मृत्यु भएको छैन।

‘३ वर्षदेखि मधेसमा यो रोगले मृत्यु भएका छैनन् भने पहाडी र उच्च पहाडी जिल्लामा प्रयोगशाला प्रमाणित केससमेत बढदै गइरहेको छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. विवेकलाल कर्ण भन्छन्, ‘यो रोग उत्पन्न गर्ने भुसुना (सैन्ड फलाई) पहाडी तथा हिमाली जिल्लामा समेत प्रशस्त देखिन थालेका छन्।’

ईडीसीडीको तथ्यांकअनुसार ९ महिनायता कालाजारको संक्रमण देखिएका ४४ मध्ये २८ वटा पहाडी जिल्ला छन्। कालाजार देखिएका पहाडी जिल्लामा भोजपुर, खोटाङ, ओखलढुंगा, काठमाडौं, मकवानपुर, रामेछाप, सिन्धुली, दोलखा, काभ्रे, भक्तपुर, स्याङ्जा, तनहुँ, अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठान, रोल्पा, दैलेख, हुमला, जुम्ला, कालिकोट, सल्यान सुर्खेत, अछाम, बैतडी, बाजुरा, डडेलधुरा र दार्चुला छन्।

सरकारी तथ्यांकअनुसार नौ महिनायता ४४ जिल्लाका १ सय ५५ जनामा कालाजार देखिएको छ।

सन् २०१६ मा ४८ जिल्लामा कालाजार देखिएकोमा २ जनाको मृत्यु भएको थियो। सन् २०१७ मा ४९ जिल्लामा कालाजारको केस रिपोर्ट गरिएकामा ५ जनाको मृत्यु भएको थियो।

Source: Kantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *